ccvi भरेको १ हप्ता पश्चात् शुक्रबार परपोजलमा नाम आयो, भोलिपल्ट शनिबार १२ बजे दिउँसो तिर एक्कासी फाइनल नेमलिस्टमा नाम आएछ, March 26 भनेर । हत्तपत्त बुढी र बुवा सँग कुरा शेयर गरे । मनमा एक खालको अमिलोपना आयो । घरको, खेतको, कुखुराको चल्लाको, रुखको, भैसिको पाडी, बिरालो सम्मको माया लाग्यो । बुवा र बुढिसँग टाढा रहनुपर्ने बाध्यता आइपरेको पाउदा रुन मन लाग्यो ।
अब जानू त छ, पैसा कमाउन जान लागेको फेरि, प्रक्रिया सुरु गर्नुपर्यो । बाबा, बुढी र मामा लाई साथ लिएर काठमाडौ गए । श्रम, विमा गरे । व्यवस्थापन शुल्क बुझाए, मेडिकल गरे, ओरियन्टेसन सुनेर टोपि, ज्याकेट र आइडी कार्ड पनि लिए । कामै लाग्ला भनेर निशुल्क सिम पनि बोके, जुन सिम नल्याएको भए होमसिक भएर कोरियाको तालिमकेन्द्रमै मर्नु न बाच्नु भइन्थ्यो होला । कोरियन पैसा साट्न साह्रै गाह्रो भयो । आज फ्लाइट हुदा आज नै nimb bank मा खाता बनाएर, लाइन बसेर २ लाख कोरियन वन साटे ।
एयरपोर्ट छोड्न आउँदा बाटोभरी काली रोइरहेकिले गर्दा मन झनै खिन्न भो, फोटो खिचेर सुट्केस हिडाल्दै विदा हुदा मन गह्रौं भयो । बाटो तताउदै गर्दा आँसु कत्ती बेला झरेछ थाहै भएन । देशको माया कति लाग्छ भनेर बाध्यताले विदेशीने नेपालीहरुलाई एयरपोर्टमा सोध्नु । कोरिया नपुगुन्जेल निद्रा लागेन, कोरियन एयरपोर्टको लामो प्रक्रिया, लगेज तानेर हिडेको हिड्यै, अनिद्रा भोक तनावले शरीरमा फुर्ती कहाँ थियो र !
तालिमकेन्द्रमा २ दिन राख्यो, तेस्रो दिन कम्पनीको म्यानेजर आएर सोही दिन बाटै काममा लगायो । कारखाना छिर्दा मेसिनको यति ठूलो आवाज, गन्ध अर्कै त्यसमाथि नेपाली कोहि छैन । सुरुको दिन कारखाना भरी कुचो लगाए, एकछिन प्याकिङ सिके, दोस्रो दिन दिनभरी प्याकिङ्को काम गरे । प्लास्टिकको दाना PPE, PA6, PA66, PC, PCT, HDPE यस्तै यस्तै बोरामा २५ किलो भरेर सिलाउनुपर्ने थियो । २५, ३० वर्ष पुरानो मेसिनहरु रे सबै । नेपालमा यति त गर्न सक्थ्यो त सरकारले, नेपालमै यस्तो कारखाना भैदिए आधा कम पैसा दिए पनि नेपालमै गर्थे नि भन्ने सोच आयो ।
कोरिया सोचेको भन्दा फरक छ, पैसा त छ तर दुख लास्टै छ । भाषाको समस्याले हातको इशारा सिक्नुपर्छ । इपिएसमा ३९, ४० ल्याएर पास गरेर के गर्नु ! यहाँ पुरै ठाडो बोलिले गर्दा फिटिक्कै नबुझिने । सुरुमा त खाना नै वाक्क आउने, पछि भोकमा खाइने नै भयो जसोतसो । देशमा रोजगार नपाउनाले विदेशीको गुलामी हुनुपरेको छ । नेपालमा फलानो कोरिया छ रे भन्दा वाउ लाग्थ्यो, आज आफ्नो हालत हेर । विदेश भनेको विदेश हो । सकेसम्म आफ्नै देशमा गरौं, म त अब कार्यकाल सकेर नेपाल गएपछि नफर्किने, अरु देश त झन नजाने, साना उद्योग भएपनी दोकान नै भएपनी संचालन गरेर बस्ने भन्नेअठोट लिएको छु ।
एक टिप्पणी भेजें
Love you!!!